१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

परिवारका सदस्यको अभिनय रहने फिल्म निर्माण गर्दै निखिल



काठमाडौँ । अभिनेता निखिल उप्रेती नयाँ फिल्म निर्माणमा जुटेका छन् । एक्सन स्टारको रूपमा परिचित निखिलले सामाजिक पारिवारिक एक्सनका विषयमा फिल्म निर्माण गर्ने तयारी गरेका हुन् । आफूले परिवारका सदस्यलाई समेटेर फिल्म निर्माण गर्ने तयारीमा रहेको उनले बताए । ‘म पहिला मेरो, सञ्चिता र छोराछोरी सबैको अभिनय रहने पारिवारिक फिल्म बनाउँदै छु’, निखिलले रातोपाटीसँग भने–‘अंग्रेजी, हिन्दी र नेपाली गरेर तीन भाषामा यो बन्ने छ ।’ एउटा गजबको कथा भेटेकोले पारिवारिक अभिनय रहने फिल्म बनाउन लागेको उनले सुनाए ।

फिल्मका लागि केही गीत समेत निखिलले रेकर्ड गरिसकेका छन् । ‘फिल्मले आमा र बच्चाको भावनात्मक कथा बोल्ने छ’, निखिलले थपे, ‘कसैले याद गर्न नसकेको कथामा फिल्म गर्दै छु । जुन सबैको जीवनसँग मेल खानेछ ।’ निखिल पछिल्लो समय अभिनय भन्दा ‘आध्यात्मिक गुरु’ को रूपमा चर्चामा छन् । ‘समबोी अभियान’ सँग जोडिएका उनले पछिल्लो समय फिल्म ‘भैरव’ बनाएका थिए ।

भैरवपछि ‘पिँजडा ब्याक अगेन’ अभिनय गरेका उनले केही अगाडि ‘भैरव २’ निर्माण घोषणा गरेका थिए । ‘भैरव २’ एक्सन कथामा बन्न लागेको हो । ‘पहिले पारिवारिक कथामा र त्यसपछि एक्सन फिल्म बनाउँछु’, उनले थपे ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  ३ : ४८ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com