१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

आइपिएल फाईनल – नाटकीय फाईनल खेल, जडेजा नायक बन्दा उपाधी चेन्नईलाई


१६ जेष्ठ २०८०, मंगलबार  

0
Shares

इन्डियन प्रिमियर लिग (आइपीएल) २०२३ को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ ।

बिहान अहमदाबादमा सम्पन्न फाइनलमा डकवर्थ लेविस पद्धतिको आधारमा गुजरात टाइटन्सलाई पाँच विकेटले पराजित गर्दै चेन्नईले उपाधि जितेको हो । गुजरातले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको चेन्नईले ब्याटिङ गरेकोमा पहिलो ओभरमा भारी वर्षा भएपछि खेल रोकिएको थियो । लामो समय रोकिएको खेल पाँच ओभर घटाएर सुरु गरिएको थियो । डिएल पद्दतीका आधारमा नयाँ १ सय ७१ रनको लक्ष्य चेन्नईले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । चेन्नईका लागि डेभोन कन्वेले २५ बलमा ४ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ४७ रन बनाए । रोमाञ्चक बनेको खेलमा चेन्नईलाई जितको लागि अन्तिम २ बलमा १० रन चाअिएको थियो । अलराउण्डर रविन्द्र जडेजाले छक्का र चौका हान्दै नाटकीय जित दिलाएका थिए ।

यो सँगै चेन्नईले पाँचौं पटक आइपीएलको उपाधि जितेको छ । चेन्नईले मुम्बई इन्डियन्सले सर्वाधिक पाँच पटक उपाधी जितेर बनाएको कीर्तिमान बराबरी गरेको छ ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १४ रन बनायो । गुजरातका लागि साई शुदर्शन र ऋद्धिमान शाहले अर्धशतकीय ईनिङ्स खेले । शुदर्शनले ४७ बलमा ८ चौका र ६ छक्काको सहयोगमा ९६ रन बनाए । शाहले ३९ बलमा ५ चौका र १ छक्काको सहयोगमा ५४ रन बनाए ।


लिग चरणमा गुजरात शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएका थिए । पहिलो क्वालिफायरमा चेन्नईले गुजरातलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । गुजरातले दोस्रो क्वालिफायरमा मुम्बईलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

जितसँगै चेन्नईले मुम्बई इन्डियन्सले पाँच पटक उपाधी जितेर बनाएको कीर्तिमानलाई बराबरी गरेको छ । उता, गुजरातको भने लगातार दोस्रो पटक उपाधी जित्ने योजना बिफल भएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  १ : १९ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com