सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले जित निकालेको छ । च्यासल मैदानमा शनिबार भएको खेलमा सातदोबाटोले त्रिभुवन आर्मी क्लबलाई २–१ गोल अन्तरले हराएको हो । सातदोबाटोको जितमा शिव सुवेदी र दिपेन्क राज सिंह ठकुरीले एक एक गोल गरे । आर्मीका नवयुग श्रेष्ठले एक गोल फर्काए । जितसँगै सातदोबाटोले २४ खेलमा ३२ अंक जोडेको छ । आर्मीले २४ खेलमा ३० अंक जोडेको छ । शनिवारकै अर्को खेलमा थ्री स्टार क्लब र एपिएफ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो । खेलको २३औँ मिनेटमा एपिएफका मणि कुमार लामाले गोल गर्दा ८६ औँ मिनेटमा सुनिल लामाले थ्री स्टारका लागि बराबरी गोल फर्काए । यस बराबरीसँगै थ्री स्टार २४ खेलबाट २८ अंक जोडेर ११ औं स्थानमा छ भने एपिएफ २४ खेलबाट ३० अंक जोडेर सातौं स्थानमा छ ।
२० जेष्ठ २०८०, शनिबार
0
Shares