१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

चालु आर्थिक वर्षको राजश्व संकलनको लक्ष्य आधारहीन : स्वर्णिम वाग्ले



काठमाडौं ,राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले सरकारको चालु आर्थिक वर्षको राजश्व संकलन गर्ने लक्ष्य आधारहीन देखिएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थसमितिको बैठकमा सांसद वाग्लेले यस्तो बताएका हुन्। उनले संशोधित बजेटमा समेत सरकारले ४० दिनको राजश्व संकलन प्रक्षेपन गर्न नसकेको आरोप लगाए।

उनले सरकारले असार १८ गतेसम्म राजश्व ८ खर्ब ६६ अर्ब मात्रै उठे पनि सरकारले ९ खर्ब उठेको भन्दै गलत तथ्याङ्क दिएको बताए। उनले अर्थ मन्त्रालयले एक महिना अघि मात्रै बजेटमा ११ खर्ब ८० अर्ब उठाउने घोषणा गरेको भन्दै अब आर्थिक वर्षको बाँकी १२ दिन केही चमत्कार नहुने बताए।

उनले नेपालको औसत राजश्व संकलन ३ अर्ब रहेको भन्दै अब घटाएको संशोधित अनुमानलाई हेर्दा दिनमा २६ अर्ब राजश्व उठाउनु पर्ने बाध्यता सरकारलाई रहेको बताए। उनले भने, ‘असार १८ गतेसम्म सरकारको राजश्व ८ खर्ब ६६ अर्ब मात्रै उठेको छ‚ ९ खर्ब उठेको छैन। अर्थमन्त्रीले एक महिनाअघि मात्रै बजेटमा ११८० अर्ब उठाउँछु भन्नुभएको छ। आर्थिक वर्ष सकिन १२ दिन मात्रै बाँकी छ। औसत राजश्व संकलन ३ अर्ब जति मात्रै हुन्छ। सरकारले घटाएको संशोधित अनुमानलाई हेर्दा पनि दिनमा २६ अर्ब राजश्व उठाउनुपर्ने हुन्छ। सरकारले ४० दिनको पनि प्रक्षेपन गर्न नसकेको हो किरु कि अर्को १२ दिनमा अर्को चमत्कार हुँदै छ। त्यसमा जानकारी पायौं। असार १८ गतेसम्म अनुदानमा पनि ४ अर्ब ८० करोड मात्रै उठेको छ। सरकारको लक्ष्य थियो ५५ अर्ब र एक महिनाअघि मात्रै ३८ अर्ब आउँछ भन्नुभएको थियो। ५ अर्ब चानचुनमा १२ दिनमा ३०।५ अर्ब पुग्ने आधार होला। सरकारको राजश्व र वैदेशिक अनुदानमा पनि एक महिनाभित्र नै संशोधित अनुमान र वास्तविकताबीचको खाडल विश्वसनीयतामा प्रश्न उठाउँछ। अर्को १२ दिनमा के हुँदैछ। के आधारमा सरकारल लक्ष्य राख्यो।’

उनले असार १८ गतेसम्म सरकारको अनुदानमा पनि ४ अर्ब ८० करोड मात्रै उठेको बताए। उनले सरकारको लक्ष्य ५५ अर्ब बाट एक महिना अघि मात्रै ३८ अर्ब उठ्ने भने पनि अब बढीमा ५ अर्बसम्म उठ्नसक्ने दाबी गरे। उनले सरकारको राजश्व र वैदेशिक अनुदानमा पनि एक महिनाभित्र नै संशोधित अनुमान र वास्तविकताबीचको खाडल विश्वसनीयतामा प्रश्न उठ्नु राम्रो नभएको बताए।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  १० : ५९ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com