१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

टी–२० विश्वकपको खेल तालिकाप्रति गुनासो



यदि कुनै कारणले सेमिफाइनल खेल एक दिन पछाडि सार्नु पर्यो भने दोस्रो सेमिफाइनल खेल्ने टोलीले त्यसको २४ घण्टाभित्रै फाइनल खेल खेल्नु पर्ने स्थिति सृजना हुन्छ । त्यसमाथि सेमिफाइनमा विजयी हुने टोलीले यसबिचमा फाइनल खेल्ने स्टेडिय सहरसम्म पुग्न लामो यात्रा पनि तय गर्नुपर्ने स्थिति छ ।

आईसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार, पहिलो सेमिफाइनल खेल जुन २६ तारिखमा खेलिने छ । उक्त खेल ट्रिनिडाडस्थित ब्रायन लारा क्रिकेट एकेडेमीमा खेलिने छ । त्यसपछि दोस्रो सेमिफाइनल खेल जुन २७ तारिखमा हुनेछ ।

दोस्रो सेमिफाइनल खेल गुयनाको जर्जटाउनस्थित प्रोभिडेन्स स्टेडियममा खेलिने छ । जुनको महिनामा क्यारेबियन क्षेत्रमा अत्यधिक गर्मी हुने गर्छ । यदि कुनै कारणले दोस्रो सेमिफाइनल खेल एक दिन पछाडि सरेमा त्यो खेलमा विजयी हुने टोलीसँग फाइनल खेलअघि २४ घण्टाभन्दा पनि कम समय बाँकी रहन्छ । 

यही समयभित्र उक्त टोली गुयनाबाट बार्बाडस पुग्नु पर्ने हुन्छ । विश्वकपको फाइनल खेल २ तारिखमा बार्बाडसको ब्रिजटाउनस्थित केन्सिङटन ओभलमा खेलाउने कार्यक्रम रहेको छ । यस्तो स्थितिमा दोस्रो सेमिफाइनल खेल्ने टोलीले फाइनलअघि थोरै पनि आराम पाउने छैन ।

यसै विषयलाई लिएर केही राष्ट्रले आईसीसीसँग गुनासो गरेका हुन् । यस विषयमा केही राष्ट्रले आईसीसीलाई समेत जानकारी गराइसकेका छन् । तर, हालसम्म आईसीसीसले आधिकारीक रुपमा आफ्नो धारणा सार्वजनिक गरेको छैन ।

टी–२० विश्वकपको इतिहासमा हालसम्म सेमिफाइनल र फाइनलको बिचमा यति थोरै समयको अन्तर कहिले पनि राखिएको थियो । टी–२० विश्वकपको सन् २०२२ मा भएको आठौँ संस्करणमा इङ्ल्यान्ड र भारतबिचको दोस्रो सेमिफाइनल खेल नोभेम्बर १० तारिखमा खेलाइएको थियो ।

त्यसको तीन दिनपछि मात्र इङ्ल्यान्ड र पाकिस्तानबिच मेलबर्नमा फाइनल खेल खेलाइएको थियो । नोभेम्बर १३ तारिखमा खेलाइएको फाइनलमा इङ्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै दोस्रो पटक टी–२० विश्वकपको उपाधि चुमेको थियो । 

त्यसअघि सन् २०२१ मा सम्पन्न सातौँ संस्करणमा पनि दोस्रो सेमिफाइनल खेल नोभेम्बरमा खेलाइएको थियो । फाइनल खेल भने त्यसको तीन दिनपछि नोभेम्बर १४ तारिखमा खेलाइएको थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  १२ : ३८ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com