काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले गत साताको शुक्रबारको तुलनामा तोलामा १ हजार ४०० रुपैयाँले बढेर कारोबारमा आएको जानकारी दिएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार ९०० रुपैयाँ थियो ।
जुन यो साताको शुक्रबारसम्म आइपुग्दा १ लाख ३९ हजार ३०० रुपैयाँ कायम भएको छ । यो साता नेपाली बजारमा सुनको मूल्यले कीर्तिमानी मूल्य समेत कायम गरेको थियो । साताको बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४० हजार रुपैयाँसम्म कायम भएको थियो । जुन, अहिलेसम्मको सबैभन्दा उच्च हो ।
यद्यपि शुक्रबार भने तोलामा ७०० रुपैयाँले घटेर कारोबार सुरु भएको थियो । यस्तै यो साता चाँदीको मूल्य समेत बढेको छ । गत साता चाँदीको मूल्य तोलामा १७ सय ३५ रुपैयाँ थियो । जुन यो साताको शुक्रबार बढेर १८ सय रुपैयाँ प्रतितोला पुगेको छ । यो प्रतितोला ६५ रुपैयाँको वृद्धि हो ।