१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

पर्यटक बोलाउन भारत हिँडे इलामका व्यवसायी


२६ जेष्ठ २०८०, शुक्रबार  

0
Shares

इलाम, नेपालमाइलामका व्यवसायीको संख्या बढाउन इलामका व्यवसायीहरू भारत प्रस्थान गरेका छन्। पूर्वी नेपालमा पर्यटक आगमन बढाउने उद्देश्यले इलामेली पर्यटन व्यवसायीहरू बिहीबार भारत गएका हुन्।

व्यवसायीहरूले पाँच दिनसम्म भारतको पश्चिम बंगालस्थित सिलिगुडी र सिक्किमका विभिन्न स्थानमा पर्यटन सरोकारवालासँगको भेटघाट र छलफललाई प्राथमिकता दिने बताइएको छ। इलामका पर्यटन व्यवसायीको आयोजनामा इलामको पर्यटन प्रवर्द्धनका लागि २२ सदस्यीय टोली भारतको सिलगुडीसहित सिक्किममा त्यहाँका पर्यटन व्यवसायीको साझा संस्थाको कार्यक्रममा सहभागी हुने जनाइएको छ। इलामका पर्यटन व्यवसायी एवं होटल व्यवसायी संघ इलामका अध्यक्ष देवी पौडेलका अनुसार भारतका पर्यटन व्यवसायीसँग व्यावसायिक साझेदारीका विविध पक्षबारे व्यापक छलफल गरिने छ। इलामसँगको पर्यटनमा साझेदारी गर्ने उद्देश्यका ‘चलो इलाम’ कार्यक्रम तय गरिएको छ। पर्यटन व्यवसायीले बिहीबारै झापाको बिर्तामोडमा इलाम–झापा मैत्री समाजका सदस्यहरूसँग भेटघाट गरी इलामको पर्यटन विकासबारे छलफल गरेका छन्। होटल व्यवसायी संघ इलामका महासचिव प्रकाश चापागाईंले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारे। इलाम–झापा मैत्री समाजका अध्यक्ष तिलोत्तमा खत्रीले समाजसँग मिलेर अगाडि बढ्ने जानकारी दिइन्। इलाम नगरप्रमुख केदार थापाले पर्यटन प्रवर्द्धनका लागि ‘चलो इलाम’ कार्यक्रम प्रभावकारी बन्ने विश्वास व्यक्त गरे। भ्रमण टोलीमा इलाम नगरप्रमुख थापासहित होटल व्यवसायी, पर्यटन व्यवसायीको सहभागिता छ।

होटल व्यवसायी संघ इलामका अध्यक्ष पौडेलका अनुसार भारतका उत्तरपूर्वी राज्यबाट इलाम आउने क्रम बर्सेनि बढ्दै छ। नेपाली भाषीको बाहुल्य रहेका ती ठाउँ नेपालको धर्म संस्कृतिसँग पनि उत्तिकै मिल्ने भएकाले पर्यटकीय साझेदारीका धेरै सम्भावना छ। खासगरी इलामको मार्ग भएर हिँड्ने सिक्किमका पर्यटकलाई लक्षित गरिएको उनको भनाइ छ।

यही जेठ २८ गतेसम्म हुने प्रवर्द्धनात्मक भ्रमणमा भारतको सिलगुडी, सिक्किम, कालेङ्पुङ लगायतका पर्यटकीयस्थलमा हुने विभिन्न कार्यक्रममा सहभागी हुँदै नेपालको प्रचार गरिने जनाइएको छ। -रासस

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ३ : १३ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com