१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

धादिङका दुर्गम भेगका चेपाङ विद्यार्थीलाई न्यानो कपडा सहयोग



धादिङ, रोटरी क्लब अफ स्वयम्भु र नेशनल लघुबित्त वित्तीय संस्था लिमिटेडको संयुक्त सहयोगमा धादिङका दुर्गम भेगका विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरेर धादिङ जिल्ला बेनिघाट रोराङ गाउँपालीकाकै दुर्गम मानिने वडा नं. ८ स्थित दुइवटा विद्यालयका चेपाङ विद्यार्थीहरुलाई सहयोग प्रदान गरिएको हो ।

राजमार्गबाट सबैभन्दा टाढाको दुरीमा पर्ने जलकन्या आधारभूत विद्यालय र जलदेवी आधारभूत विद्यालयमा आवश्यकता अनुसार सामाग्री वितरण गरिएको हो । जलकन्या आधारभूत विद्यालयमा न्यानो कपडा(हुडी र ट्राउजर) २४ थान, जुत्ता र मोजा २४ थान तथा झोला २४ थान वितरण गरिएको छ । त्यसैगरी जलदेवी आधारभूत विद्यालयमा न्यानो कपडा(हुडी र ट्राउजर) ४२ थान, जुत्ता र मोजा ४२ थान तथा झोला ४२ थान वितरण गरियो ।

बेनिघाट रोराङ गाउँपालीकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, वडा नं. ८ का वडाध्यक्ष राजकुमार श्रेष्ठ, रोटरी क्लब अफ स्वयम्भू तथा नेशनल लघुबित्त वित्तीय संस्था लिमिटेड, फेकस नेपालका कार्यकारी निर्देशक एकराज छत्कुली तथा अन्य पदाधिकारी, शिक्षक तथा अभिभावकको उपस्थितीमा सहयोग सामाग्री वितरण गरिएको थियो ।

जाडोमा न्यानो कपडा प्राप्त गरेपछि विद्यार्थीहरु खुशी देखिएका छन् । सरकारी तथा गैह्रसरकारी संघसंस्थाको सहज पहूँचबाट टाढा रहेका विद्यार्थीहरुलाई यस किसिमका सहयोगले हौसला प्रदान गर्ने शिक्षकहरु बताउँछन् ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ५ : ३२ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com