१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

भष्ट्राचार र अख्तियारको सक्रीयता !



प्रकाश रायमाझी (राजनितीक विश्लेषक)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ वार्षिक उत्सव मनाइरहदा राज्यका समग्र सेवाप्रदायक अङ्गहरु र नीति निर्माणको क्षेत्रलाई विगत र वर्तमानको तुलनात्मक चर्चा गर्नु उपयुक्त हुनेछ। समाजमा बढ्दै गएको उपभोक्तावादी प्रवृत्ति, नेपालमा बढ्दै गएको आर्थिक एवं मनोवैज्ञानिक विचलनले राज्यका हरेक तह र निकायहरुमा आर्थिक अपचलन, अनियमितता नितिगत तहमा समेत ठुला–ठूला अनियमितता झाँङ्गिन पुगेकोले सार्वजनिक क्षेत्रमा व्याप्त भ्रष्ट्राचारको जरा ओखल्न त्यति सजिलो छैन। सामाजिक रहनसहन मानवीय मनोआकांक्षा भनौ अन्तरइच्छाहरू बढ्दै भौतिक सुखहरूको प्राप्तिमा आकर्षित हुँदै अघि बढिरहेको समाजलाई भ्रष्टाचार शुन्य तुल्याउन ज्यादै जटिल भएको छ । देशभक्ति, धर्माचरण र परोपकार जस्ता सत्चरित्र जस्ता मानविय गुणहरु राज्य कोषबाट भरणपोषण गर्ने सार्वजनिक पदमा रहने अधिकारी र सेवाप्रदायक राष्ट्रसेवकको अन्तषकरण बाट जागृत हुँदैन त्यहाँ अनेकौं किसिमका विकृतिहरुले जरो गाड्ने गर्दछ । भ्रष्टाचार विकृत मानसिकताबाट उत्पन्न हुने दुर्गुण हो।

सामान्य जीवनशैली अपनाउनुको सटृा समाजको देखासिखी गर्ने कृत्रिम जीवनशैलीलाई त्याग्न नसकेसम्म भ्रष्टाचार रोक्न सम्भव हुदैन। पूर्विय दर्शनमा पुनर्जन्मको दुखान्त पुनरावृत्तिको कारण राजश्व, देवश्य, शिवश्व र ब्रह्मश्य हत्याउने कु–कर्मको परिणाम जन्मजन्मान्तरसम्म पनि तिर्न नसकिने ऋणको परिणाम हो । पुर्विय समाजमा विद्यमान यस किसिमका नैतिक आचरणका सिद्धान्त समाजले नबुझेसम्म विकृतिको जरो हरेक मान्छेको मस्तिष्कमा उत्पन्न भइ नै रहन्छ। क्षणिक स्वार्थ र विलाशी जीवनको लालसामा मै खाउ मै लाउँ मै मात्र बाँचौं भन्ने संकीर्ण मान्यतामा वर्तमान समाज निर्दिष्ट हुदै गैरहेको छ । यो नै भ्रष्टाचारलाई मलजल र संस्थागत गर्ने सबैभन्दा डरलाग्दो रोग हो। नैतिक मूल्य मान्यतामा आधारित सात्विक जीवन पद्धतीको अन्तर्यमा समाजको परिकल्पना गर्दा हाम्रो जीवनशैली समाज कता गइरहेको छ विद्यमान परिस्थिति कस्तो छ यसको समेत विवेचना गर्नु जरुरी हुन्छ।

जसरी पनि मोजमस्ती गर ठूलो घर बनाउ अलिसान महलभित्र सपनाका तानाबाना सजाउनुपर्छ भन्ने मानसिकताले ग्रस्त कृत्रिम जीवनशैलीबाट भ्रष्टाचार मोलाउन महत्वपूर्ण भूमिका खेल्दछ। कृत्रिम जीवन बाँच्ने र भौतिक सुख सुविधा भोग्ने आशक्तिले सार्वजनिक पदासिन राष्ट्रसेवक, जनप्रीतनिधिले आफ्नो नैतिक आचरणलाई सदैव धरापमा राख्ने गरेको पाइन्छ ।

मानिसले सात्वक जीवन पद्धतिलाई अंगिकार गर्ने र सत्कर्ममा लाग्न प्रेरित गर्ने सदियौंदेखि प्रवाहित गर्दै आएको वैदिक सन्देश र सोहि परम्परा एवं ऋषि महर्षीहरुले देखाएको बाटोबाट अघि बढ्न कोसिस गर्यौ ‌भने विकृत मनोविज्ञान परिवर्तन भएर सत्कर्ममा रम्ने मस्तिष्कको विकास हुन थाल्नेछ। सबैको भलो होस् राज्यमा सबैले समान कानुनको अनुभूति व्यवहारमा गर्न पाउन भन्ने प्रतिबद्धता गर्ने हो भने भ्रष्टाचार बिस्तारै नियन्त्रण हुँदै जान्छ। मुल कुरा चाहिँ विकसित घटनाक्रमको अवस्थालाई मध्यनजर राख्दा यी दर्शनभन्दा फरक ढंगले सोच्ने गर्दा हाम्रो मानसिक गुण र स्वभाव लोभी–लालचमाआशक्त हुन्छ नै। जबसम्म प्रत्येक नागरिक र प्रत्येक राष्ट्रसेवकले मनमस्तिष्कदेखि देशको नुन खाएका छौं जनताले तिरेको रगत पसिनाको करबाट‌ पालिएका छौँ अनि हामी पनि तिनै जनताप्रति उत्तरदायी भएर सेवा गर्नुपर्छ, मैले गरेको कर्मबाट म सन्तुष्ट छु, मेरो र म प्रति आश्रितहरुको जीवन निर्वाह गर्न राज्यले यथाशक्य व्यवस्था गरेको छ,

हामी राष्ट्रसेवक जनताका भरोषा र विश्वासका पात्र हौं भन्ने मानसिक भाव अन्तष्करणमा पैदा नभएसम्म मुलुकलाई भ्रष्टाचारमुक्त तुल्याउन जस्तोसुकै नीति, रणनीति र कानून कार्यान्वयनमा ल्याए पनि त्यस्तो विकृतिलाई रोक्न र छेक्न सम्भव हुदैन । स्थायी सरकारका रूपमा रहेका राष्ट्रसेवक कर्मचारीले सम्पादन गर्ने निष्पक्ष, तटस्थ र प्रभावकारी सेवाभाव र उसको सेवा प्रवाहले जनतामा पैदा गर्ने उत्साहले नै देशलाई समृद्ध र जनतालाई सुखी बनाउने हो । आपूmलाई निश्रित जिम्मेवारी र अधिकारको इमान्दारीपूर्वक पालना गर्छौं र यो नै हाम्रो पेशागत धर्म हो भन्ने कुरालाई संकल्प मान्ने हो भने सार्वजनिक क्षेत्रमा व्याप्त भ्रष्टाचारको कलंक विस्तारै कम हुँदै जान्छ।

ऐन कानुन बनाउने र समाजमा कथित बुद्धिजीवि र विद्तवर्ग मानिएका ओहोदाधारी टाठाबाठा रकमी कर्मचारीहरूले मुलुकलाई नीतिगत रुपमा र सेवाप्रवाहका क्रममा जन्मभूमि र नेपाली दाजु–भाई दिदी–वहिनीलाई अहोरात्र दोहन गरिरहेका छन्। यता देशलाई सम्बृद्ध बनाई नेपालीलाई सुखी राख्छु भन्ने नेतृत्व लिन कम्मर कसेकाहरु भ्रष्टाचार र कुलंघार भएर निस्किएका छन् । जो अगुवा उही बाटो …… भन्ने कुरालाई दिनहुँ यिनले चरितार्थ गरिनै रहेका छन् । राजनीतिलाई समाज रुपान्तरण र सम्बृद्धिको माध्यम होइनकी नेतृत्व वर्ग र तिनका आसेपासेहरुको धनकुवेर बनाएर समाजमा रवाफिलो जीवन बनाउने पेशाका रुपमा रुपान्तरण गरेका छन् । जबसम्म राजनीतिक दलहरूले जनता ठग्न बन्द गर्छन्स मिथ्या सपना बाँड्ने राजनीति गर्न छाड्छन् तब भ्रष्टाचार स्वतःअन्त हुन्छ।

जनताले पनि कुनै न कुनै राजनीतिक दलको निकट भएर तेरो र मेरो भन्न छाडेर यो देश मेरो हो, भनि देशको प्रगति गर्नुपर्छ भन्ने सोच पलायपछी मात्र भ्रष्टाचारको अन्त्य हुन्छ । अहिलेको नेपाली समाज नै भ्रष्ट बनेको छ । अधिकाँश परिवारमा कुनै न कुनै रुपमा भ्रष्टाचार प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडीएकै छ । भ्रष्टाचार निवारण गर्न कानून, विधि र नीति मात्र निर्विकल्प साधन भने होइन। मान्छेको सोचमा असल विचारको अविर्भाव र नैतिक जागरण नभएसम्म भ्रष्टाचारको रोगले नेपाली समाजलाई सताइनै रहनेछ ।

दण्ड पाउनेले पाउँछन्, उन्मुक्ति हुने भइरहन्छन् तर समग्रमा देश विकासको लक्ष्य र गति भने अधुरै रहन्छ । नेता हुन् वा व्यापारी कर्मचारी अर्थात् जुनसुकै पेशा व्यवसायमा आबद्ध भएकाले इमान्दारीपूर्वक देशमा कर बुझाउनु पर्छ भन्ने आत्मिक जागरणको वातावरण जुन दिन बन्छ त्यस दिनदेखि भ्रष्टाचार स्वत न्यूनिकरण हुन थाल्छ । शासक वर्ग र जनताबीचको अन्योन्याश्रित सम्बन्ध जबसम्म कायम हुँदैन भ्रष्टाचार रोक्न सकिन्न। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अख्तियारको दुरुपयोग गर्ने सिमित नेतृत्व वर्ग र राष्ट्रसेवक उपर छानबिन एवं अनुसन्धान गरेर मुद्दा चलाउदै आएपनि स्वयमा आयोगमा रहेका पदाधिकारीको नियत र चरित्र पनि शुद्ध, निष्पक्ष, स्वच्छ र पारदर्शी हुनु पर्ने उत्तिकै आवश्यक छ । व्यवसायिक विज्ञता, पेशागत निष्ठा र शुद्ध आचरणका आधारमा राखिनुपर्ने आयुक्त र प्रमुख आयुक्तको नियुक्ति नै दलिय स्वार्थ, भागबण्डा र दलगत आस्थाबाट प्रभावित हुने भएपछि यसको निष्पता, निर्भिकता र स्वतन्त्रतामा प्रश्न खडा भएकै छ ।

कर्मचारी देखि अनुसन्धानमा खटिएका कर्मचारी विभिन्न प्रलोभन र राजनैतिक दबाबमा बस्नुपर्ने अवस्था छ। यस्तो परिस्थितिमा संवैधानिक निकाए भएपनि आयोगले स्वस्फुर्त रुपमा आफ्नो जिम्मेवारी निर्भिकता निर्वाह गर्न सकिरहेको छैन। दलाल बिचौलियाहरुको सेटिङमा अख्तियार चल्नुपर्ने परिस्थिति उत्पन्न भएपछि आयोग कसरी स्वतन्त्र हुन्छ ? यो अहिलको सवैभन्दा विचारणिय विषय हो । जब–जब आयोगले निर्भिकता र निष्पक्ष काम गर्न खोज्यो त्यसलाई तत्कालै हतोत्साहित तुल्यान्छ । भ्रष्ट्राचारको लहरो तान्दा निर्वाचन आयोगमा दर्ता भएका कथित राजनैतिक दलरुपी कम्पनीहरु प्रत्यक्ष जोडिन पुग्छन्।अनि यिनै राजनीतिका नाउँमा धोकाधडी र गुण्डागर्दीबाट राज्य स्रोत दोहन गर्न खप्पिस कथित राजनीतिकर्मी परजीवीहरूले शासन पद्धतिलाई आफ्नो अनुकूल चलाउने कोसिस गर्छन्। राष्ट्रसेवक वा नीति निर्माताबाट भए गरेका अनुचित कार्य जस्ता अख्तियारीको दुरुपयोग गर्ने कार्यको अनुसन्धान गर्न अहिले आयोगलाई रोकिएको छ । यसबाट भ्रष्टहरुको मनोवल बढ्न गई भ्रष्टाचारको बाढी उर्लेको छ । निष्ठापूर्वक देश र जनसेवालाई आप्mनो पेशाको अभिन्न नैतिक आचरण मान्ने राष्ट्रसेवक र सार्वजनिक पदाधिकारीका विरुद्ध महाभियोगको भूत देखाएर काम गर्नेहरुलाई लखेटिन्छ। यस्तो अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार न्यूनीकरणमा अनुसन्धान र उजुरी उपर छानबिन गर्न त्यत्रो साहस देखाउन सक्ला त ?

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ४ : १८ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com