काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधि सभामा भइरहेको गतिविधिलाई सत्ताको भागबण्डाको झगडा भएको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रतिनिधि सभामा भइरहेको गतिविधिहरू पुँजीवादी पार्टीहरूको सत्ताको भागबण्डाको झगडा भएको टिप्पणी गरेका हुन् ।
विगतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सबैले विश्वासको मत दिएको भन्दै उनले अहिले केही विषयमा झगडा भएका कारण विश्वासको मत नदिएको बताए । उनले विश्वासको मतको पक्ष वा विपक्षमा बस्दा साक्षी बसेको जस्तो हुने भएकाले मत नै नदिएको बताए ।
उनले दुवै पक्ष ठिक नभएकाले आफू तटस्थ बसेको बताए । उनले प्रमुख प्रतिपक्ष दलले नाराबाजी गर्दा संसद्को कारबाही रोक्नु राम्रो हुने धारणा राखे । सांसद सुवालले विश्वासको मतको पक्षमा मतदान गर्न पहिले आफूलाई प्रस्ताव गरिने गरेको भएपनि पछिल्लो समय प्रस्ताव समे आउन छाडेको बताए ।