१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

पशुपतिको भेटी चोरीमा पक्राउ परेकाले भनेः कोषाध्यक्षले नै चोर्न अह्राए



काठमाडौं । पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न कर्मचारीले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीलाई पोलेका छन् ।

कोषाध्यक्ष सुवेदीको निर्देशनमा आफूले भेटी चोरेर उनैलाई बुझाएको ती कर्मचारीको जिकिर छ ।

पशुपति भेटी चोरीरहेको अवस्थामा पशुपति क्षेत्र विकास कोषका ७ जना कर्मचारीसहित ८ जनालाई प्रहरीले सोमबार रंगेहात पक्राउ गरेको थियो ।

पशुपति क्षेत्र विकास कोषले निगरानी गर्दा संस्कृति संरक्षण महाशाखाको भेटी गणना कक्षबाट कर्मचारीले नै भेटी लुकाएर लैजाने गरेको खुलेको सूचना प्रहरीलाई पुगेको थियो । कोषको सोही सूचनाका आधारमा प्रहरी वृत्त गौशालाको टोलीले ८ जनालाई पक्राउ गरेको हो ।

प्रहरी वृत्त गौशालाका डिएसपी केशवराज थेबेका अनुसार पक्राउ पर्नेमा कोषका नायव सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मणहरू नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, मन्दिरमा बाजा बजाउने कर्मचारीहरू अनल परियार, सनिष कपाली, कुमार दमाइ र पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैंकको रकम संकलन केन्द्रका एक कर्मचारी रहेका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  १० : ४६ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com