नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतको संसद भवनमा नेपालको भूमि समावेश गरिएको नक्शा (मुरल) राख्नु उचित नभएको बताएका छन् ।
भारतको नयाँ संसद भवनमा काठमा कुँदिएको भारतको नक्शामा नेपालको लुम्बिनी र कुपिलबस्तु पनि रहेको भन्ने कुरा सुनिएको उल्लेख गर्दै यदि त्यो सत्य हो भने उचित नहुने ओलीको प्रतिक्रिया थियो । अखिल नेपाल महिला संघले मंगलबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भारतजस्तो एउटा पुरानो, सुदृढ र नमूना लोकतन्त्र भनिएको देशले त्यस्तो व्यवहार गर्न नमिल्ने स्पष्ट पारे । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणको क्रममा सो नक्शा संसद भवनबाट हटाउने कुरा भारत सरकारसँग गर्नुपर्ने बताएका छन् । भारतसँग सो गल्ती सच्याउने बारेमा कुरा नगर्ने हो भने प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जानुको कुनै अर्थ नहुने ओलीको टिप्पणी छ ।