कविता / दिर्घ बहादुर शाही
छिमेकीलाई उपहार
नरोकी दिनु पैतालाहरु
ननिमोठी दिनु आसहरु
नचुडाली दिनु
फुल्नै लागेका कोपिलाहरु ।
झुप्रामा जन्मेर
ठुलो कल्पनाको
भारी बोक्दै
एक अथक यात्री
बगटे खोलाको किनारमा
बालुवा संग
छाती धस्दाधस्दै
जिन्दगीको आधा बैँस सम्म
पुग्दा,
हरेक अपेक्षाहरु
बालुवाका साथी भैसके
जिन्दगीले यसरी
आसका गरुङ्गा
भारी बोक्दाबोक्दै
जवानी पनि अचेल
भारी भैइ सक्यो
छिमेकीले उपहारमा
अलिकति खुसी
दिएपछि सपनामा
खुसिहरु पनि
बिहान पख
रातहरु जस्तै
अधेरा लाग्छन्
तर पनि
आफ्ना सुखहरुलाई
दुब्ला बनाएर
छिमेकीका खुसिहरु
मोटा बनाउ भन्दा
जिन्दगी त झन
बालुवा भन्दा पनि
मोटो भैइ सकेछ
बटुवा दाइको
सिमा पारी बाट ल्याएको
यादको ठुलो भारी
हलुङ्गो बनाउ भन्दा
यादहरु भने
हावा भन्दा पनि
अझ गरुङ्गा लाग्छन।