खुमलटारलाई हराउँदै मनाङ मर्स्याङ्दी पाँचौ स्थानमा
काठमाडौं, रोशन राना मगरले खेलको इन्जुरी समयमा गोल गरेपछि मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा एफसी खुमलटारलाई १(० ले पराजित गरेको छ । यो जितपछि मनाङ अंक तालिकामा पाँचौ स्थानमा उक्लेको छ र रेलिगेसनको चिन्ता टारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा मनाङका लागि रोशनले इन्जुरी टाइमको चौथो मिनेटमा निर्णायक गोल गरे । त्यसअघि खुमलटारका एलान थापाले पेनाल्टीमा गोल गर्न असफल हुँदा खुमलटारले अग्रता लिने मौका गुमाएको थियो । ५५औं मिनेटमा एलानको पेनाल्टी प्रहार मनाङका कप्तान तथा गोलकिपर दिप कार्कीले बचाए । जितपछि मनाङ २३ खेलबाट ३१ अंक जोडेर पाँचौं स्थानमा उक्लेको छ । यसअघि लगातार हारेले खमलटारको रेलिगेसन संकट झन् बढेको छ । २३ खेलबाट २४ अंकसहित खुमलटार पुछारमा छ ।
पहिलो पटक ए डिभिजन लिग खेलिरहेको खुमलटारले शीर्ष डिभिजनमा टिक्न अब बाँकी तीनवटै खेल जित्नुपर्ने अवस्थामा आइपुगेको छ ।