जेठ २७– जनमत पार्टीका अध्यक्ष डा।सिके राउतले मधेसका कुनै पनि अधिकार प्राप्त नभएको दाबी गर्दै आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । पर्सामा शनिवार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो निर्देशन दिएका हुन् । अध्यक्ष राउतले मधेस आन्दोलनको माग २२ वटा जिल्लालाई एउटै बनाउने रहेको तर आठ वटा जिल्लामा सीमित भएको भन्दै आन्दोलनको आवश्यकता रहेको धारणा राखे ।
उनले भने, ‘हाम्रो कुनै माग पुरा भएको छैन, अहिले नागरिकताको समस्या समाधान भएको भनिन्छ तर त्यो पनि कार्यान्वयन हुन्छ कि हुँदैन भने ठेगान छैन । त्यसैले आन्दोलन गर्न आवश्यक छ ।’ जनमत पार्टी सांसद र मन्त्री बन्न र बनाउनका लागि आएको पार्टी नभएको उनको भनाई छ । अध्यक्ष राउतले भने, ‘अरू कुनै पार्टीले एउटा मन्त्रालय पाउने वितिक्कै ती पार्टीका अध्यक्ष नै सरकारमा जान तँछाडमछाड गर्थे तर जनमत पार्टीका अध्यक्षले अरूलाई पठाएको छ ।’ आफ्ना लागि पद र पैसा ठुलो नरहेको पनि उनले बताए ।