१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

पोखरामा एक करोड लिटर क्षमताको डिजल भण्डारण, एक महिनाको माग धान्ने


१ श्रावण २०८०, सोमबार  

6
Shares

कास्की, पोखरामा १० हजार किलोलिटर अर्थात् एक करोड लिटर डिजल भण्डारण क्षमताका दुई वटा गृहको उद्घाटन गरिएको छ । पोखरा महानगरपालिका वडा नं २९ र ३० गगनगौँडामा नेपाल आयल निगमले निर्माण गरेको डिजल भण्डारण गृहको आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गरे ।
सो अवजसरमा मन्त्री रिजालले पोखरामा इन्धन भण्डारण गृह निर्माणले मुलुकको ऊर्जा पूर्वाधारलाई सुदृढ गर्दै राष्ट्रको ऊर्जा सुरक्षा सुनिश्चित गरेको धारणा राखे । नेपाल आयाल निगमका प्रबन्ध निर्देशन ई उमेशप्रसाद थानीले गगनगौँडामा रहेको यस डिपोको भण्डारण क्षमता विस्तारले गण्डकी प्रदेशमा पेट्रोलियम पदार्थको बिक्री वितरणलाई सुदृढ बनाउन कोसेढुङ्गा सावित हुने बताए । नेपाल आयल निगमले विसं २०५८ सालपछि निगमको आफ्नै लगानीमा अघि बढाई मुलुककै डिजल भण्डारणको हिसाबले दोस्रो ठूलो पेट्रोलियम भण्डारण रहेको उनको भनाई छ ।
सो अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकका लागि इन्धन भण्डारण क्षमता विस्तार आवश्यक भएको बताए । उनले यो भण्डारण गृह पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँगै सञ्चालन आउनुपर्ने भए पनि केही ढिलाइ गरी भएको बताए ।

एक महिनाको माग धान्ने क्षमता
निगमका प्रबन्ध निर्देशक थानीका अनुसार गण्डकी प्रदेशमा हरेक दिन करिब चार लाख ६७ हजार लिटर पेट्रोलियम पदार्थ खपत हुन्छ । हाल एक दिनमा यस प्रदेशमा तीन लाख २० हजार लिटर डिजल र एक लाख ६० हजार लिटर पेट्रोल बिक्री वितरण भइरहेको छ । यस डिपोमा हाल २२ लाख ८० हजार लिटर डिजल र १० लाख १० हजार लिटर पेट्रोलको भण्डारण क्षमता छ । प्रदेशभरको हालको दैनिक खपत र भण्डारण अवस्था तुलना गर्दा डिजलको माग करिब सात दिन र पेट्रोलको माग करिब दुई दिन मात्रै धान्न सक्ने क्षमता छ । थानीका अनुसार आज उद्घाटन भएका नयाँ भण्डारण परियोजना सञ्चालनमा आएपछि प्रदेशमा डिजलको भण्डारण करिब ३० दिनभन्दा बढी पुग्नेछ भने साविकको सात सय ६० केएल क्षमताको मट्टितेल ट्याङ्कको पेट्रोल ट्याङ्क भएको रूपान्तरणले दुई दिनका लागि मात्रै पुग्ने पेट्रोलको भण्डारण करिब १० दिनभन्दा बढी माग धान्न सक्ने भएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ७ : २९ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com