काठमाडौँ ,नेपाल विद्युत् प्राधिकरणले टेकु सब स्टेसनबाट आपूर्ति भइरहेको विद्युत् शनिबार दिउँसो बन्द हुने बताएको छ । शनिबार बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत प्रभावित हुने भएको प्राधिकरणले जनाएको छ ।
लप्सी फेदी तथा चाँगुनारायण सब स्टेसन निर्माण आयोजनाद्वारा टेकु सब स्टेसन स्तरोन्नति गर्ने भएकाले विद्युत बन्द गरिने भएको हो ।
प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, “टेकु स्युचाटार ६६ केभी लाइन १३२ के।भी मा चार्ज गर्ने गरी कार्य भइरहेको छ । प्रथम चरणको सब स्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकु सबस्टेसनको विद्यमान इनकमर– १ प्यानल तथा दुई वटामध्ये एउटा पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएको छ ।”