१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

वेस्ट इन्डिजसँग ७६ रनले हार्यो नेपाल



काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो टी–२० क्रिकेटमा बुधबार घरेलु टोली नेपाल पराजित भएको छ । कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा भ्रमणकारी टोली वेस्ट इन्डिजले नेपाललाई ७६ रनले हराएको हो ।

जितसँगै वेस्ट इन्डिजले पाँच खेलको शृङ्खलामा २–१ को अग्रता लिएको छ । शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई चार विकेटले हराएको थियो । दोस्रो खेलमा भने वेस्ट इन्डिजले नेपालमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको थियो । शृङ्खलाको चौथो खेल बिहीबार खेलिने छ ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको वेस्ट इन्डिजले निर्धारित ओभरमा तीन विकेट गुमाएर दुई सय २७ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालले भने १९।२ ओभरमा अलआउट हुनुअघि एक सय ५१ रनमात्र बनाउन सक्यो ।

तेस्रो खेलमा नेपालले बलिङ र ब्याटिङ दुबैमा निराशाजनक प्रदर्शन गर्‍यो । ठुलो विजयक्ष्य पछ्याएको नेपालका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । नेपालका लागि तल्लो क्रमका ब्याट्सम्यान करण केसीले २८ रन बनाए ।

ओपनर ब्याट्सम्यान लोकेश बमले पनि २८ रन बनाए । कुशल मल्ल २० रन बनाउँदै आउट भए । ओपनर विनोद भण्डारी पनि १९ रनभन्दा अगाडि बढ्न सकेनन् । अनिल साहले १४ रन जोडे । नेपालका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ४ : ४५ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com