१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधान गर्न सरकारसँग देउवाको आग्रह



काठमाडौँ-नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधानमा लाग्न सरकारसँग आग्रह गरेका छन्। शनिवार काठमाडौंमा आयोजित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको १२ औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेपालमा वैदेशिक रोजगारी महत्वपूर्ण रहेको बताए। उनले विदेशमा रोजगार गर्न जाने कुरा र त्यहाँ श्रमीकहरुले पाइरहेको दुःखका बारेमा आफू जानकार रहेको भन्दै श्रमीकलाई भइरहेको शोषणको समस्या रोक्न आग्रह गरे। उनले वैदेशिक रोजगारीमा गएका नेपालीबाट देशमा आउने रेमिट्यान्ससँगै श्रमीकहरुको समस्या समाधानमा आवश्यक भुमिका खेल्नुपर्ने बताए।

उनले श्रमीकहरु ठगिनु, दुःख पाउनु नहुने बताए। उनले भने,‘नेपालमा वैदेशिक रोजगार महत्वपूर्ण कुरा हो। एकातिर विदेशमा रोजगार गर्न नेपालीले पाउँछन्। एउटा कुरा सुने मैले, त्यहाँ ठगिएका कुराहरु, दुःख पाएका कुराहरु मैले थाहा पाएँ, यस्ता कुरा रोक्न हामी लाग्नुपर्छ। साथसाथै जो रेमिटेन्सको पैसा आउँछ, नेपाललाई जो विदेशी पैसा पनि आउँछ, त्यसले नेपालको रेमिटेन्स मात्रै होइन, अरु पनि धेरै नेपाललाई फाइदा हुन्छ।’

उनले थपे,‘त्यसका लागि यो अब यसलाई एकातिर रेमिटेन्स आवश्यक छ, अर्कोतिर व्यापारीहरु रोजगारीमा गएका साथीहरु ठगिनु भएन । दुःख पाउनु भएन, जेलमा थुनिएका छन्, धेरै दुःख पाएका छन् । यो वैदेशिक रोजगार एशोसिएशनले लिड रोल लिनुपर्छ।’सभापति देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनलाई दुःख पाएका नेपालीहरुले समस्या समाधान गर्ने काममा लाग्न पनि निर्देशन दिए।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  २ : २३ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com